काठमाडौँ । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी वर्षायामको समयमा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले स्पष्ट पारेको छ ।
कार्यालय अन्तर्गत सडक डिभिजन मातहतका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिइएको छ ।