काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुनेछ। मंगलबार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् ।
अभियुक्त पक्षको बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्वअध्यक्षहरूले बहसका लागि नाम टिपाएका छन् ।
इजलासले बहसका लागि अभियुक्त पक्षका वकिलका लागि ६ दिनको समय दिइएको छ ।
जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइनेछ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार छन् ।
गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्ति भएकाले उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राखेका छन् ।