• जेष्ठ २८ २०८२, मंगलवार

नेपाली नागरिकता लिएका ९ भारतीयलाई थुनामा पठाउन आदेश

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । जिल्ला अदालत, सिराहा, रुपन्देही, बारा र पर्साले नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।

उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए । पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनादेवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।

अदालतको आदेशपछि एक जना बाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए । प्रकरणमा भरत शाह कलवार, रोहितकुमार शाह, अनिलकुमार शाह र भोला भनिने सुनिल शाह कलवार अझै फरार छन् ।

‘जहाँबाट नागरिकता लिएका थिए, त्यहीँबाट मुद्दा चलाइएको थियो’, केसीले भने, ‘यसमा संलग्न अरुको खोजी भइरहेको छ ।’