इस्लाम धर्मावलम्बीहरुको लागि हजयात्रा एक महत्वपूर्ण इस्लामिक तीर्थयात्रा हो । हज गर्नका लागि विश्वभरीबाट आएका सबैभन्दा ठूलो संख्यामा मुस्लिमहरू पवित्र शहर मक्का र मदिना शरीफमा जम्मा भइ हजका अरकानहरु पुरा गर्छन् । हज इस्लामको पाँचवटा आधारभूत स्तम्भहरू मध्ये एक हो ।
यो एउटा धार्मिक कर्तव्य हो, जुन प्रत्येक मुस्लिम पुरुष वा महिला जो आर्थिक रुपले सक्षम हुन्छन्, उसले आफ्नो जीवनकालमा कम्तिमा एक पटक यो हजयात्रा पूरा गर्नुपर्ने इस्लामी शरीयतको आदेश छ । हज मुस्लिम समुदायको एकताको साथ साथै नितान्त अल्लाह (ईश्वर) मा उनीहरूको विश्वासको प्रदर्शन हो जो नश्लभेद, रंगभेद, वणर्भेद, लिंगभेद जस्ता विभेदबाट पूणर्रुपले मुक्त रहेको कुरा प्रष्ट छ ।
हाम्रो देशमा गृह मन्त्रालयको मातहतमा रहेको नेपाल हज समिति जहिले पनि विवादित भइरहेको सर्वविदितै छ । यसपालि त हदैसम्म लापरवाही भएको छ । बिहान ७ बजे उड्नु पर्ने कपिलवस्तुका हज यात्रीहरुलाई राति १० बजे नै एयरपोर्टमा बसालेर रातभरी बिचल्ली गरियो । जसमा महिला, वृद्धवृद्धा र बालबालिकाहरु सबभन्दा बढी प्रभावित भएका छन् ।
हजयात्रामा जाँदा महिलाका साथमा धार्मिक मान्यता अनुसार महिलाको सहजताका लागि पुरुष मेहरम (आफन्त) अनिवार्य हुनुपर्छ । तर यसपालि टिकट काट्दा एकै परिवार महिला र मेहरम पुरुषलाई फरक फरक दिन पठाइएको र फरक ठाँउमा बसाइएको छ । जुन धार्मिक मान्यताको विरुद्ध कार्य हो । यसका साथै हजयात्रीहरुको लागि बस्ने व्यवस्था समेत नगरिएको भनी हजयात्रीहरुको गुनासो रहेछ । खान बस्न व्यवस्था पनि राम्ररी गरिएन । उनीहरुले सुत्नका लागि तन्ना, बिस्तरा र खानापानीको व्यवस्था आफै गर्नु परेको छ ।
हुन त टिकट हजयात्रीहरुको हातहातमा दिने जिम्मेवारी हज समिति हो तथापि त्यस्तो नगरी उनीहरुलाई आफ्नो टिकट आफै लिनका लागि कागजात लिएर बैंक पठाइएको छ । अधिकांश हजयात्रीहरु पढेलेखा नभएका र उनीहरुको लागि काठमाडौं नयाँ ठाउँ भएकोले बैंक खोज्नै धौ धौ परिरहेको छ ।
यसका साथै हजयात्रीहरुले फिर्ता पाउनु पर्ने रकम कसरी कहाँ, कोसँग लिने भनी कुनै एकिन जानकारी दिइएको छैन् । जसले गर्दा हजयात्रीहरु मर्कामा परेका छन् । कति त आक्रोसित र कति हतास भइरहेका छन् कि जब आफ्नो देशमा यो अवस्था छ भने त्यहाँ के कस्तो समस्या झेल्नु पर्ला भनी ।
सार्वजनिक रुपमा पहिलो पटक विवाद भने वर्ष २०६३/२०६४ मा इजहार मिकरानी हज समितिका अध्यक्ष भए तबदेखि नै हज समितिको विवाद सार्वजनिक रुपमा बाहिर आउन सुरु भयो । जुन क्रम निरन्तर कायम नै रहिरह्यो । त्यसपछि क्रमशः २०६४/२०६५ मा ताज मोहम्मद मियाँ, वर्ष २०६५/६६ मा जब मौलाना अब्दुल जब्बार मन्जरी उनलाई त्यतिखेर हजयात्रीहरुको बसोबासको राम्रो व्यवस्था नगरेको भनी दुर्व्यवहार कुटपिट, कोठामा थुन्ने काम गरियो ।
विवादको घटना सामुन्ने न आए पनि भ्रष्टाचार भयो कि भनी आशंका सर्वसाधारण्बीच रहिरह्यो । तर जब वर्ष २०७३/२०७५ मा धनुषाका मोहम्मद शोएब रजा हज समितिका अध्यक्ष भए । तब हजयात्रीहरुलाई साउदीमा अलपत्र पारेको, खानेबस्ने व्यवस्था राम्रो नगरेको भनी साउदीमा नै उनलाई कोठामा थुनेर कुटपिट गरेको कुरा पनि सार्वजनिक रुपमा बाहिर आयो । त्यसपछि वर्ष २०७५/२०७७ सम्म हज समितिका अध्यक्ष अर्घाखाँचीका शमसेर मियाँ भए ।
त्यतिखेर उनीमाथि हाजीहरुसँग प्रति हाजी रु. ५०००/- जति रकम बढी लिएको आरोप लाग्यो । हजयात्रामा उनले इतिहास मै बढी संख्यामा पहिलो पटक १५०० हजयात्री पठाएका थिए । जस बारे जानकारी आएको छ कि, साउदी सरकारले १२०० जना हजयात्रीको कोटा मात्र दिएको थियो । तर सानो समयमा पहल गरी उनले ३०० थप कोटा माग गरेका थिए र साउदी सरकारले दिएको पनि थियो । त्यतिखेर त्यो ५०००/- बढी किन लिएको भनी सामाजिक संजालमा चर्चाको विषय बनेको थियो ।
नेपालमा हज हाउस छैन । मश्जिदमा बस्नु पर्ने बाध्यता रहेकोले हरेक वर्ष हजयात्रीहरुलाई खाना बस्न नुहाउन महिला र पुरुषका छुट्टाछुट्टै स्नानघर र चर्पीको व्यवस्था नरहेकोले समस्या झेल्नु परेको छ । तसर्थ हज हाउसको निर्माण गर्नु अति आवश्यक छ । यसका साथै छिमेकी मुलुकहरुले आफ्नो देशबाट पठाउने हजयात्रीहरुलाई कस्तो सेवा सुविधा कति रकममा दिलाइ रहेको छ ।
नेपालका अधिकांश हजयात्रीहरु गरीब रहेकोले साउदी सरकारसँग अपील गरी यिनीहरुका लागि कम खर्चमा हज गर्नसक्ने व्यवस्था गर्नका लागि यस बारे जानकारी लिई तुल्नात्मक रुपमा कम खर्चमा उचित सेवासुविधा सहित हज गर्न गराउन व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको छ । कार्यभार सम्हान नसकेमा हज समिति खारेज गरी अन्य विदेश यात्रा सरह आफै जान सक्ने व्यवस्था गरिनुपर्छ । होइन भने हज समितिलाई सकृय बनाइ हजयात्रीहरुलाई सहजता प्रदान गरिनुपर्छ ।