काठमाडौंको हावा सासै फेर्न नहुनेगरी प्रदुषित बनिरहेको छ । वातावरण विभागका अनुसार उपत्यकामा बिहीबार दिउँसो वायु प्रदूषणको मात्रा २२२ एक्युआई (एयर क्वालिटी इन्डेक्स)सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ५० एक्युआईसम्म भएको हावामात्र स्वस्थ्य मानिन्छ । एक्यूआईको मात्रा १५१ भन्दा बढी भएको हावामा त सास फेर्दैमा स्वास्थ्यमा असर पर्ने जोखिम हुन्छ ।
हिउँद लागेपछि उपत्यकामा वायु प्रदुषणको जोखिम उच्च हुने गर्दछ । त्यसो त उपत्यकामा २०औँ वर्षदेखि चल्ने सवारी साधनले निकाल्ने धुवाँ पनि वायु प्रदुषणको कारक बनिरहेका छन् । स्वच्छ हावाका लिन पाउने नागरिकको नैसर्गिक अधिकार पनि हो ।
विश्वकै अत्यधिक प्रदूषित देशको सूचीमा नेपाल पर्छ। त्यसैगरी विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा राजधानी काठमाडौँ रहेको छ। पछिल्ला वर्षका तथ्यांकले यही देखाउँछ। वर्षभरको वायु प्रदूषणको औसत हिसाबले यस्तो देखिएको हो। यसरी हेर्दा बर्सातको समयबाहेक प्रदूषण नेपाल र राजधानी काठमाडौँका लागि सर्वकालिक समस्या हो। राजधानी र देशभरको प्रदूषणबारे मौसम धुम्मिएका बेलामा मात्रै ध्यान पुग्ने गर्छ। प्रदूषणसम्बन्धी यस्ता समाचार आएपछि नीति निर्माता र वातावरण अभियन्ता पनि यही मौसममा मात्र सक्रिय देखिने गर्छन्।
वायु प्रदूषणका लागि जिम्मेवार केही कारक तत्त्वले जलवायु परिवर्तनसमेत गराएको अध्ययनले देखाएको सन्दर्भमा यो विषय झन पेचिलो बन्दै गएको छ। मानिसको रौँको व्यासभन्दा कैयन् गुना सानो आकारको कण वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको छ। पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्ताउन सक्छ।
नेपालमा वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि केही प्रयास भए पनि तिनको कार्यान्वयन अत्यन्त फितलो छ। नेपालको सांविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था छ। १५औँ पञ्च वर्षीय योजनाले प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्धन गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारीसाधनको प्रयोगलगायतमा जोड दिएको छ।
वातावरण संरक्षण ऐन, २०७६ मा कसैले पनि मापदण्डविपरीत प्रदूषण गर्न नपाउने व्यवस्था छ। काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा प्रदूषण नियन्त्रणका लागि विभिन्न योजना प्रस्ताव गरे पनि तिनको कार्यान्वयन कमजोर देखिएको छ।
त्यसो त वायु प्रदुषणका लागि स्थानीय र वाह्य कारण दुबै जिम्मेवार छन् । बाह्य कारण नेपाल बाहिरबाट आउने प्रदुषित हावा हो भने स्थानीय कारण भन्नाले यहाँका इट्टाभट्टाबाट निस्कने धुवाँ, डडेलो, गाडीले निकाल्ने धुवाँ र सडकको धुलो हुन् । यसरी हेर्दा हामी आफैले पनि आफ्नो वरपरको वातावरण स्वच्छ बनाउनका लागि वायु प्रदुषण गर्ने कारक तत्वमाथि नियन्त्रण गरेर मात्रै सम्भव देखिन्छ । व्यक्ति स्वयं र सरकारबाट पनि प्रदुषण कम गर्ने योजना कार्यान्वयन गर्ने तर्फ ध्यान दिनु जरुरी छ । स्वच्छ हावा लिन पाउने हाम्रो नैसर्गिक अधिकार भए पनि हामी सबैको हातेमालो र सचेतनाबाट मात्रै यो सम्भव छ ।