काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
यो प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएका आरोपमा पक्राउ परेकाहरुसँगको बयान शुक्रबार सकिएको थियो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएपछि उनीहरुलाई पुर्पक्षमा पठाउने कि नपठाउने भन्नेबारे निर्णय हुनेछ ।
वयानको सबै फाइल शुक्रबार अवेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानून व्यवसायी र सरकारी वकिलले केही समय माग्ने तयारी पनि गरेका छन् । इजलासले अनुमती दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
शुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नेछन् । त्यसपछि मात्रै आरोपितहरुको प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुको पालो आउनेछ । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे निर्णय हुने छ ।