काठमाडौं । प्रदेश १ प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलामाथि उदयपुरमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा प्रहार गरेका छन् । शनिबार गाईघाटमा आयोजित ‘वृत्ति परामर्श तथा रोजगार मेला’मा सहभागी भई विराटनगर फर्कने क्रममा सडकमा पहिचान पक्षधरहरूले चर्को नाराबाजीसहित कालो झण्डा देखाउँदै ढुंगामुढा प्रहार गरेका हुन् ।
गाईघाटस्थित त्रियुगा नमुना माविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी भएर दिउँसो ३ः३० बजे फर्केका उनीमाथि त्रियुगा नगरपालिका ६ जलजलेमा पहिचान पक्षधर समूहले विरोध गर्दै आक्रमणको प्रयास गरेको हो । उनको गाडीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै कालो झण्डा देखाएर विरोध प्रदर्शन भएको थियो ।
ढुंगाले मन्त्री सवार गाडीको सिसामा क्षति पुगेको छ भने झण्डा भाँचिएको प्रत्यक्षदर्शी स्थानीयले जनाएका छन् । धरान–चतारा–गाईघाट खण्डको मदन भण्डारी लोकमार्ग भएर आएका उनी फर्कंदा व्यापक विरोध गर्ने गरी फर्कनु अगावै बेलका–चौदण्डीगढी खण्डका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शन गर्दै आक्रमणको तयारी भइरहेको थियो ।
विरोधको सुराकी पाएपछि रुट बदलेर गाईघाट–लाहान–रुपनी पूर्व–पश्चिम लोकमार्गको बाटो फर्केका उनी ७ किलो मिटर पार नगर्दै जलजलेमा पहिचान पक्षधरको निशानामा परिहाले। रुट बदलेर अर्को बाटो जाने जानकारी पाएका पहिचान पक्षधरहरू गाईघाट–कदमाहा सडक खण्डको जलजलेमा जम्मा भई कालो झण्डा देखाउनुका साथै ढुंगामुढा प्रहार गरेको किरात राई यायोक्खा स्रोतले जनाएको छ ।
पहिचानको विपक्षमा प्रदेश १ को नाम राखेपछि प्रदेश व्यापी आन्दोलनको भइरहेको र सोही कार्यक्रम अनुसार मन्त्री सिटौलाको विरोध गरेको यायोक्खाले जनाएको छ । मन्त्री आउने कुरा पूर्व जानकारी नभएकाले तत्काल बनेको विरोध कार्यक्रम सशक्त नभएको हो । एक्कासि कार्यक्रममा मन्त्री आएको थाहा भएपछि फर्कने क्रममा विरोध गर्ने कार्यक्रम तय भएको हो ।