• मंसिर १४ २०८१, शुक्रबार

दक्षिण अफ्रिका पठाइदिने भन्दै रकम असुल्नेहरुसित सजग रहन वैदेशिक रोजगार विभागको आग्रह

जेष्ठ १९ २०८०, शुक्रबार

काठमाडौं । दक्षिण अफ्रिकामा आकर्षक जागिरको लोभ देखाएर नेपालीहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार उक्त गिरोहले १५० जनाभन्दा बढी नेपालीबाट लाखौँ रकम संकलन गरेको छ ।
नेपालीहरू ठगिन थालेको जानकारी आएपछि विभागले उक्त गिरोहबाट जोगिन आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।

‘दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली वर्क परमिटमार्फत् मानव बेचविखन एवं गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० भन्दा बढी नेपालीहरूबाट लाखौँ रकम संकलन भइरहेको एवं सो सम्बन्धमा सामाजिक सञ्जालहरूमा समेत भ्रमपूणर् विज्ञापन सम्प्रेषण भएको जानकारी यस विभागमा आएको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले त्यस्तो प्रलोभनमा नपर्नसमेत आग्रह गरेको छ । यस्तो गिरोह सक्रिय भएको सूचना पाएपछि विभागले सूचना नै जारी गरेर त्यसबाट जोगिन आग्रह गरेको हो ।

‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन,’ विभागले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूणर् विज्ञापन गरिरहेकाले सूचना जारी गरिएको हो ।

त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको भए पनि पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने सुवेदी बताउँछन् । दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक नल्याउने सुवेदीको भनाई छ ।

दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचना अनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने सुवेदी बताउँछन् ।

कुनै पनि देश जान सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
भिसा सम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए ।