• जेष्ठ २८ २०८२, मंगलवार

नेपालमा लगानी बढाउन भारतीय उद्योग- व्यवसायीलाई प्रचण्डको आग्रह

जेष्ठ १९ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्।

‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ। लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे।

भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा सीमित नभएको बताए।

‘हामीसँग साझा इतिहास छ। गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ,’ उनले भने, ‘यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो। हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं। म विश्वस्त छु, हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौँ।’