काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सीटीईभीटीका तीन कर्मचारीको पहिचान खुलेको छ। बेपत्ता हुनेहरुमा दुई सहसचिवस्तरका निर्देशक र एक अधिकृतस्तरका कर्मचारी छन्।
जसमा प्रशासन महाशाखाका निर्देशक कृष्णबहादुर केसी, नीति निर्माण तथा योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र स्तर निर्धारण महाशाखाका अधिकृतस्तरका प्राविधिक कर्मचारी भानु पौडेल छन्।
उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ। उनीहरु सवार गाडी समेत फेला पर्न सकेको छैन। उद्धार तथा खोजका लागि सशस्त्र प्रहरीले काठमाडौंको सिनामंगलस्थित नम्बर २० विपद् उद्धार गणबाट सईको कमाण्डमा ७ जनाको गोताखोर टोली पठाएको छ।
त्यसैगरी आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) इन्स्पेक्टरको कमाण्डमा १३ जना, रामेछापबाट सईको कमाण्डमा ९ जनाको टोली पनि परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा सीटीईभीटीका दुई निर्देशक र एक अधिकृतस्तरका कर्मचारी बेपत्ता भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन्। स्कर्पियो गाडीका चालक भने पौडिएर बाहिर निस्केका छन्।
बाँकी तीन जना अहिलेसम्म बेपत्ता छन्। बेपत्ता भएकाहरु २ जना सहसचिवस्तरका कर्मचारी हुन् भने एक जना अधिकृतस्तरका कर्मचारी रहेको सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले बताए।