काठमाडौं । विशेष अदालतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ।
बिहीबार विशेषका सदस्यद्वय बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस मुद्दामा फैसला गर्दै ८ प्रतिवादीमध्ये तीनजनामाथि कसुर कायम भएको विशेषका उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले बताए ।
उनका अनुसार प्रतिवादीहरू बलभद्रप्रसाद दास, अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई जनही १/१ वर्ष कैद र २५/२५ हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको छ। दास प्रतिष्ठानका तत्कालीन उपकुलपति हुन् भने सिन्हा अस्पतालका निर्देशक तथा थापा रजिस्ट्रारका रूपमा कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० असार २०७६ मा दोषी ठहर भएका तीनजनाका साथै प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। साथै, दुई व्यवसायी चेतन अग्रवाल र उमेश अग्रवाललाई समेत प्रतिवादी कायम गरिएको थियो।
प्रतिष्ठानबाट विभिन्न मितिमा भएको वस्तु तथा सेवा खरिदका क्रममा भ्रष्टाचार भएको ठहर अख्तियारको थियो। उपकुलपति दाससमेतले सामग्री खरिदमा न्यून बोलपत्र कबोल गर्ने बोलपत्रदाताको पर्याप्त आधार र तथ्यगत कुराहरूको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा सम्झौता गर्नुका साथै भुक्तानीसमेत दिएको अभियोग लगाइएको थियो। उक्त क्रममा ४ करोड ८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर भएको हो।
यसैगरी, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाले तीन करोड ७५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अनुसन्धानले देखाएको थियो । रजिस्ट्रार थापाले भने सेवा तथा सामग्री खरिदमा एक करोड ९६ लाख रुपैयाँभन्दा ठूलो रकम भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर भएको हो। अर्का रजिस्ट्रार तुलबहादुर श्रेष्ठलाई पनि प्रतिवादी कायम गरिएकोमा उनलाई भने विशेषले सफाइ दिने फैसला गरेको छ।