काठमाडौं । एमालेनिकट अनेरास्ववियु मकवानपुरले हेटौँडाको बुद्धचोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बुद्धचोकमा अनेरास्ववियुले कोणसभा गर्दै शान्तिका दूत भगवान बुद्धको प्रतिमा सामुन्ने देशका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएको हो ।
राष्ट्रपति पौडेलले विवादास्पद नागरिकता विधेयकलाई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभामा छलफल नै नगराई एकपटक फिर्ता भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएको छ ।
भारतले नयाँ संसदमा नेपालको भूभाग समेटेर नक्सा बनाउँदासमेत सरकार चुप लागेको र भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर भारतलाई खुसी पार्ने नाममा राष्ट्रघाती काम गरेकोले पुत्ला जलाइएको अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिनाले बताए ।
कोणसभालाई सम्बोधन गर्दै तिमल्सिनाले सरकारलाई दलालको संज्ञा दिँदै राष्ट्रघाती काम गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई कुनै बहानामा माफी दिनसमेत नमिल्ने बताए ।
राजनीतिक आवरणमा टिकापुर हत्याकाण्ड गराएका रेशम चौधरीको रिहाइले जघन्य अपराधमा सरकारले प्रश्रय दिने काम गरेको उनको आरोप छ । सत्तामा रहेका नेताहरूले मुलुकविरुद्ध निरन्तर षडयन्त्र गरिरहेकोले अनेरास्ववियु चुप नबस्ने उनको चेतावनी छ ।