काठमाडौं । सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ।
मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताए।
उनले नेपालगञ्ज(रुपैडीया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए। उनले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताए।
उनले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताए।