• जेष्ठ २८ २०८२, मंगलवार

अरु पनि भ्रष्टाचार काण्ड र हत्याकाण्डको खोजीनिती गरिन्छ: प्रधानमन्त्री प्रचण्ड

जेष्ठ १६ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु पनि भ्रष्टाचार काण्ड र हत्याकाण्डको खोजीनिती गरिने बताएका छन्।

माओवादी केन्द्रको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले सुशासनको अभियान दृढ संकल्पका साथ नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सुरु गरिएको बताए। तर आफूहरुको अभियान सो प्रकरणसँग मात्रै सम्बन्धित नरहेको उनको भनाइ छ।

‘मैले सदनमा पनि भनेको छु। हिजोका सबै फाइलहरु अब क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ। ठूल्ठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्। तिनको खोजीनिती गरिन्छन्। ठूल्ठूला भयानक हत्याकाण्डहरु छन्। ती हत्याकाण्डहरुको खोजीनिती गर्नु छ’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको नाम लिँदै त्यसको छिनोफानो नभएको बताए। ‘नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर एउटा नयाँ विश्वास जनतामा जगाउनुछ। अब केही हुन्छ, हुनसक्छ भन्ने विश्वास जगाउनुछ’, उनले भने।