नेपाली समाजको एउटा अनौंठो राजनीतिक चरित्र छ । पट्टयार् लाग्दो राजनीतिक अभ्यास, भ्रष्टाचार, बेथिति र विसङ्गतिले थलिएको नेपाली समाजमा यस्तो अवस्थाविरूद्ध नागरिकहरू एकजुट भएको देखिंदैन ।
बरू परिवर्तनको नाममा नयाँ दल, नयाँ नेतृत्व र नयाँपनको अभ्यासमा देशलाई प्रयोगशाला बनाउने काम भइरहेको छ । अहिले राजनीतिमा दलका ५ महिने नेताहरूले नेतृत्व पाएका छन् ।
निर्वाचनमा अनुभवी, समाजसेवी वा योग्य व्यक्ति भन्दा पनि स्वतन्त्र पार्टीको घण्टी चुनावी ब्रान्ड बनेको देखिन्छ । उल्लेखित नयाँ राजनीतिको उदयका पछाडि हालसम्म कुनै राजनीतिक दर्शन, सिद्धान्त वा रणनीति नभएको जानकारहरू बताउँछन् ।
यो दल क्यापिटलिष्ट, कम्युनिष्ट वा कन्जरभेटिभ के हो ? राजावादी, गणतन्त्रवादी वा अन्य कुनै ‘वादी’ छ भने त्यो के हो ? नीति तथा सिद्धान्त विनाको राजनीति दल कुनै पनि मुलकमा भएको पाइँदैन ।
नेपाली राजनीतिमा नयाँ दलहरू आउने र विलय हुने क्रम धेरै पुरानो भइसकेको छ । अहिलेसम्म नेपाली समाजले खोजेको नयाँपन, राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन ।
पुराना राजनीतिक सिद्धान्तमा विमति होइन, केवल दलका असक्षम नेताहरूप्रति कटाक्ष हो । तीन दशकदेखि राजनीतिमा रहेका तर देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै अहिलेको निर्वाचनमा पनि मतदान गरेर जिताउने नेपाली समाजले कस्तो नयाँपनको अपेक्षा गरेको हो ?
कस्तो देश बनाउन चाहेको हो ? एकातिर लोकतान्त्रिक मुलुकमा एउटै असफल व्यक्तिलाई पटकपटक नेतृत्वमा पठाउने काम भएको छ भने अर्कोतिर अनुभवी तथा सक्षम नेताहरूलाई हराउने काम पनि भएको छ । योग्यहरू हराउने र असक्षमहरूलाई जिताउने मतदाताहरू नै विकास र सुशासनका बाधक हुन् ।
नेपाली समाजले सक्षम नेतृत्वको चाहना राखेको पाइन्छ, किन्तु मतदान गर्दा तीन दसकमा तीनवटा सम्झन लायक काम गर्न नसक्नेहरूलाई विजयको माला लगाइदिएको छ । यसरी हेर्दा आमनागरिकले भन्दा पनि पढेलेखेको सचेत वर्गले मात्र नयाँपनको खोजी गरिरहेको देखिन्छ ।
त्यसो त दशकौंदेखि भ्रष्टचारमा मुछिएको केही संख्याका नेताहरू अहिलेको निर्वाचनमा बढारिएका छन् । यो सकारात्मक पक्ष हो । तर पनि प्रजातन्त्रको अभ्यासलाई अहिलेका अवस्थामा पुर्याउने असफल नाइकेहरू फेरि पनि निर्वाचित भएका छन् । यसरी हेर्दा नेपाली समाजमा लोकतन्त्रको अभ्यास गर्ने चेतना कमजोर भएको देखिन्छ ।
जबसम्म विकासमुखी राजनीति हुँदैन, तबसम्म नयाँ नेता र नेतृत्वको खोजी भइरहे तापनि देशले सुशासन पाउन सक्ने देखिदैन । विकासभन्दा नेतामुखी कार्यकर्ता र तालीमा रमाउने नेतृत्वको राजनीतिक लिला नेपाली समाजले लामो समयसम्म हेर्दै र भोग्दै आइरहेको छ ।
राजनीतिमा चर्का भाषण गर्नु, विज्ञापन, मेडियाहरूको उपयोग गरी मत कुम्ल्याउनु नै राजनीतिक चरित्र भएको छ । राजनीतिमा शैक्षिक चेतनास्तर कमजोर भएको हाम्रोजस्तो मुलुकमा स्याल हुइँयाले पनि काम गरेको देखिन्छ । यस्तो अभ्यासले धेरै नेताहरू जन्माउने तर देशको लागि काम गर्न सक्षम नेतृत्वको अभाव खड्किरहने काम भइरहेको छ ।
२०७४ मा भएको आमनिर्वाचनपश्चात् ‘समृद्घ नेपाल, सुखी नेपाली’को थेगोलाई भजाएर राजनीति गरेका केपी ओली नेतृत्वप्रतिको ठूलो आशा र भरोसा भूकम्पले धरहरा ढलेझैं भएपछि नेपालको राजनीति तथा समाज बुझेकाहरूले राजनीतिक गफ र भाषण वा घोषणा पत्रमा विश्वास गर्न छाडेका छन् ।
अहिलेको आमनिर्वाचनमा पनि मतदाताहरूले ‘गरिब नेपाल र दुःखी नेपाली’ माथि रजाइ गर्ने राजनीतिक नेतृत्वलाई विस्थापन गर्न नसकेको देखियो । राजनीतिक संस्कार र अनुभव भएका योग्य पात्रहरूको चयन गर्नु पर्नेमा नयाँ राजनीतिक नेतृत्वको खोजाइले केही राजनीतिक कर्मीहरू संसदमा प्रवेश गरेका छन् ।
विकासको आकांक्षा हुँदाहुँदै पनि विकासको प्रष्ट खाका र शासकीय कौशलताको अभाव भएमा विकास निर्माण र सुशासन शब्दमा मात्र सिमित हुन्छ । राजनीतिमा यस्तै भइरहेको छ ।
सचेत नागरिकहरूले राजनीतिक दलहरूलाई विश्वास गर्न सकेको अवस्था छैन । राजनीतिलाई उपयोग गर्ने, अयोग्य नै भए पनि परिवार एवं आफन्तजनहरूलाई अवसर दिने, धन आर्जन गर्नेजस्ता कुराहरू हुँदै आएका छन् ।
अहिलेको निर्वाचनले जन्म दिएका दलहरूले के गर्ने हुन् ? हेर्न बाँकी छ । प्रजातन्त्रको पुनस्थापना पछाडि धेरै नयाँ राजनीतिक दलहरूको उदय र अस्त भएको छ । दलहरू नेपाली जनताको लागि जुन जोगी आए पनि कानै चिरेका जस्ता भएका छन् ।
अहिलेका दलहरू पनि कुनै राजनीतिक सिद्धान्त र समाज सेवाको आधार भन्दा पनि राजनीतिक कुसंस्कारले सिर्जना गरेको उपजको रूपमा देखिएका हुन् भन्नेमा शंका छैन ।