यस वर्ष निर्वाचनमा भाग लिँदै गरेका राजनीतिक दल तथा तिनका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारहरू पनि सल्बलाइरहेका छन् । सहरबजार, गाउँघर, चिया पसल, चौर, चौतारी, देवालय, शिक्षालय, वाचनालय, खेतखला, पानीपँधेरो आदि इत्यादि ठाउँमा चुनावी सरगर्मीको सुरुवात भइसकेको छ ।
निर्वाचन वा दल विशेषको विषयलाई लिएर समाजमा आपसी बेमेल, रिस, राग, असमझदारी वा झैझगडा हुने गर्छ तर यसो गर्नु हुँदैन । त्यसो त, आवधिक निर्वाचन लोकतन्त्रको सौन्दर्य हो ।
सहरबजार, गाउँ, टोलमा दलका झन्डा बोकेर केही थान कार्यकर्ताको आवाज घन्काउँदै छन् । उनीहरूले भनेको दललाई मतदाताले भोट दिए भने देश स्वर्ग बन्छ, विकासको मुहान फुट्छ, सुशासन स्थापित हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ र गाउँगाउँमा रोजगारी पाइन्छ ।
जहाँ जे समस्या छन्, ती समस्या समाधान गर्न उनीहरूले बोकेको झन्डावाल राजनीतिक दल वा नेता रामवाण हो । यसैगरी, केही समयपछाडि वा अर्को दिन अर्को दलको झन्डावाला उसैगरी आउनेछन् ।
देश बनाउने दल हिजोको होइन, हाम्रो हो भन्न लाज मान्दैनन् । नेताले सिकाएका विषयवस्तु निर्लज्ज पस्कन्छन् । विपक्षी दलका कार्यकर्तासँग मुक्कामुक्की गर्न पनि यिनीहरू तम्सन्छन् ।
दलगत तन्त्रमन्त्रबाट प्रशिक्षित कार्यकर्ताका लागि निर्वाचन ठूलो चाड हो । केही रकम हात पार्ने अवसर हो । नेपालको संविधान २०७२ ले १८ वर्ष पुगेका नागरिकलाई मतदान गर्ने अधिकार दिएको छ ।
लोकतन्त्रलाई जनताले, जनताद्वारा, जनताका लागि बनाइएको राजनीतिक व्यवस्था भन्ने गरिन्छ । हाम्रो देशको सन्दर्भमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए तापनि जनताका लागि उपयोग हुन सकेको छैन ।
बरु राजनीतिले नेपाली समाजलाई बाँडेको छ, भाँडेको छ । समाजलाई दलगत आस्थामा कित्ताकाट गरेको छ । जात, जाति, धर्म, वर्ग, क्षेत्र वा स्वार्थको आधारमा मनोवैज्ञानिक विभाजन गरेको छ ।
समाजको आत्मीय एकीकरण भत्काएको छ । सांस्कृतिक हस्तक्षेप भएको छ । सामाजिक मेलमिलाप बिगार्नु हुँदैन, भत्काउनु हुँदैन । आज राजनीतिका नाममा भाषा, धर्म, संस्कृति एवम् पूर्वीय सभ्यतामाथि प्रहार भइरहेको छ ।
नेपाल, नेपाली समाज र आर्य सभ्यता अन्तर्गतका सामाजिक मूल्य, मान्यता, चिन्तन एवम् अभ्यासहरू अतिक्रमण भइरहेको छ । यिनीहरू हाम्रा पहिचान हुन् । जीवनपद्धति हुन् । कुनै पनि राजनीतिक दल वा मतदानका चिह्नभन्दा ठूला छन् ।
हाम्रा संसकार र पद्धति सामाजिक एकीकरणका माध्यम हुन् । त्यसैले, यिनीहरू राजनीति भन्दा धेरै माथि र महत्वका छन् । देश हामी सबै नागरिकको साझा घर हो । समाज हाम्रा पुर्खाले निर्माण गरेका सामूहिक बसोबास गर्ने आधार हो ।
समाजसँग जोडिएका भाषा, संस्कृति, संस्कार, धर्म, चाडपर्व, भेषभूषा, रहनसहन, चालचलन आदि निर्माणका लागि हाम्रा पुर्खाको ठूलो योगदान छ । सदियाैंदेखि झाँगिँदै आएको सामाजिक सद्भाव एवम् आपसी आत्मीयता सानो स्वार्थको खातिर टुटाउनु हुँदैन, फुटाउनु हुँदैन । सबैलाई हेक्का रहोस्, हरेक नागरिकले कुनै पनि राजनीतिक सिद्धान्त, आस्था, दलसँगको संलग्नताभन्दा अगाडि घरपरिवार, आफन्तजन, छरछिमेक, समाज एवम् राष्ट्र ठूलो हो । यो देशको सुरक्षा, संरक्षण, प्रगति र विकास गर्ने काम हामी सबैको हो ।
देशको विकास हामी सबैको विकास हो । देश बिग्रिए हामीले दुःख पाउँछौं । दुःखले अशान्ति ल्याउँछ । अशान्तिले बैमनस्य बढाउँछ । समाजको अधोगति हुन्छ ।
त्यसैले, कुनै पनि राजनीतिक दल वा नेता विशेषको खातिर आपसी समझदारीमा दरार पैदा नगराऔं । रिस र आवेग होइन, विवेकको प्रयोग गरौं ।
नेपाली समाजले विगत ३२ वर्षदेखि राजनीतिक दलहरूले नेपाल र नेपालीका लागि काम गरेको वा नगरेको ’दयगतमा राम्ररी बुझेको हुनु पर्छ । नेतागणका क्रियाकलापको मूल्यांकन गरेको हुनु पर्छ ।
देशमा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? सार्वजनिक सेवाको डेलिभरी कस्तो छ ? बुझेको हुनु पर्छ । यदि, यसो हो भने सिद्धान्तविहीन राजनीति दल र भ्रष्ट नेताहरूका लागि सामाजिक आत्मीयता किन खण्डित गर्ने ? देशमा भ्रष्टाचार, बेथिति, तस्करी, कालोबजारी, महंगी व्याप्त छ । अरबाैंका घोटाला प्रकरणले हरेक नेपालीको भाग्य र भविष्यमा विकासको अभिलाशामा तुसारापात भएको छ । न्यायालयहरू यिनीहरूको कब्जामा छन् ।
सत्ता स्वार्थका लागि टुटफुट, जुट र भागबन्डामा मात्र राजनीतिक दलहरू व्यस्त छन् । यस्तो नेतृत्वका लागि कार्यकर्ता मरिहत्ते गरेर लागेको देख्दा सभ्य, विकसित एवम् शिक्षित देशहरूले नेपाली मतदातालाई महामूर्खको संज्ञा दिएका छन् ।
केही समयअगाडि युरोपियन टाइम्समा प्रकासित समाचार यसको एउटा दृष्टान्त हो । अझै पनि राजनीतिक दलका नेताका पछि लाग्ने कि समाज र देशको हितमा निणर्य गर्ने ? देश र समाजको हितमा काम गर्ने हो भने सामाजिक सद्भाव नबिगाराैं । कुनै पनि दलमा अन्धभक्त नबनौं । निर्वाचनमा सज्जन र दुर्जनलाई केलाऔं । सज्जन नेतृत्वलाई भोट हालौं । दर्जनलाई पाखा लगाऔं ।