• बैशाख २७ २०८३, आईतवार

प्रभु शाहले गठबन्धनसँग मिलेर एमालेलाई धोका दिएः एमाले महासचिव पोखरेल

आश्विन २६ २०७९, बुधबार

काठमाडौैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्ट भनिएका नेता प्रभु साहकै सहमतिमा जनता समाजवादी पार्टीसँग तालमेल भएको बताएका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका प्रभु शाहले रौतहट क्षेत्र नम्बर ३ मा पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् । साहले मधेशमा टिकट वितरण गर्दा आफूलाई नसोधेको एक अन्तर्वार्तामा बताएपनि महासचिव पोखरेलले त्यसको खण्डन गर्दै प्रभु शाह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी भएको बताएका छन् ।

‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनुभयो। उक्त सहमतिपछि मधेश प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भयो’, पोखरेले भनेका छन्, ‘निर्णय भएरअनुसार रौतहटको टिकट पनि लिएर जानुभयो। तर पार्टीलाई धोका दिएर अन्तिममा आफूले स्वतन्त्र उम्मेदवारी दिनुभयो। अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिइ समय गुजार्ने षडयन्त्र गर्नुभयो।’

उनले प्रभु साहको यो कदमलाई राजनीतिक षडयन्त्र भनेका छन्। ‘यो एक राजनीतिक षडयन्त्र हो। यसलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन। यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो।’

उनले रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी बुझेका पनि बताए। ‘मधेश प्रदेशमा एमाले र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाऊँ’, उनले भनेका छन्।