काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । । मङ्गलवार आज गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली सङ्घलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले हरेक गैरआवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जोगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए। उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताए ।
उनले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्र्याउन समेत अग्रसरता लिन आवश्यक रहेको औँल्याए ।
उनले गैर आवासीय सङ्घको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए । उनले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे ।
उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘गैर आवासीय नेपाली सङ्घको सहज रुपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ । संसारभर छरिएर रहेका अनेक नेपालीहरु, नेपालका गैर आवासीय दूतहरु हुन् । तपाईँहरुले विदेशमा नेपालको पहिचान जोगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैरनागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।