काठमाडौं । गएको बुधवारदेखि बन्द बेनी–जोमसोम सडक आज सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षासँगै पहिरो खसेर दशैँको मुख्य दिन अर्थात् टीका लगाउने दिनदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि पाँच दिनपछि खुलेको हो ।
बेनी–जोमसोम खण्डमा सडक माथिबाट ठाउँ–ठाउँमा खसेको पहिरो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको आधा दर्जन ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताए ।
अविरल वर्षासँगै खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको रुप्सेखोला लगायत ठाउँमा सडक बन्द भएको थियो । वर्षासँगै सडकभन्दा माथिबाट ठूल्ठूला ढुङ्गा, ढिस्को र लेदो मोटोसहितको गेग्रान खसेर सडक खण्ड बन्द भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको मेशिनको सहायताले पहिरो हटाइएको डीएसपी भारतीले जानकारी दिए ।