• बैशाख २७ २०८३, आईतवार

सामाजिक सञ्जालबाट गरिने विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने

आश्विन २४ २०७९, सोमबार

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश हुने जनाएको हो ।

आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रचार र विज्ञापन गर्न थालेको आयोगले जनाएको छ । आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’

आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बमोजिम सामाजिक सञ्जालबाट गरिएका र गरिने प्रचारको अनुगमन र मूल्यांकन भइरहेको आयोगले जनाएको छ ।