• बैशाख २७ २०८३, आईतवार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखाबाट उम्मेदवारी दर्ता गर्ने

आश्विन २३ २०७९, आईतवार

गोरखा । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने भएका छन् । उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेता तथा कार्यककर्ता गोरखा प्रस्थान गरिसकेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका लागि उम्मेदवारी दर्ता गराउन अध्यक्षलगायतको टोली गोरखा प्रस्थान गरिसकेको जानकारी दिए ।

माओवादीले अध्यक्ष दाहाललाई गोरखाबाट उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको हो । यसअघि उहाँ निर्वाचित हुनुभएको चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई उम्मेदवार बनाइएको छ ।

यस्तै काठमाडौँ क्षेत्र नं २ बाट पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्तीले उम्मेदवारी दर्ता गराउने भएकी छन् । गठबन्धनको साझा उम्मेदवारका रुपमा घर्तीले आज मात्रै टिकट पाएकी भएकी छन् ।

काठमाडौँ क्षेत्र नं ७ मा पूर्वविद्यार्थी नेता मानुषी यमी भट्टराईले उम्मेदवारी दर्ता गराउने भएकी छन् । काठमाडौँ क्षेत्र नं ९ बाट माओवादी नेत्री कल्पना धमलालले उम्मेदवारी दर्ता गराउने छन् ।

ललिततपुर क्षेत्र नं ३ मा माओवादीका उपमहासचिव पम्फा भुसालले उम्मेदवारी दिने भएकी छन् । आज मात्रै नेत्री भुसालले उम्मेदवारको टिकट पाउने भएकी छन् । भक्तपुर क्षेत्र नं १ मा माओवादीका तर्फबाट सुनिल गोठेले पनि टिकट पाउने भएका छन् । माओवादी केन्द्रले आजमात्रै देशभरका प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुङ्गो लगाएको हो । सोही आधारमा आजै उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा सहभागी हुन लागिएको सो पार्टीले जनाएको छ ।