• जेष्ठ ४ २०८३, सोमबार

चिसो सुरु भएसँगै अस्पतालमा डेङ्गीका बिरामीको सङ्ख्या घट्यो

आश्विन २२ २०७९, शनिबार

काठमाडौँ। चिसो सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।

डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिको तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेका उनले बताए ।

सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेका बताए। उनले दशैँको बेलामा अस्पतालले डेङ्गी बढ्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरु कम आएका बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेङ्गीबाट बच्न सक्ने बताए । उनले डेङ्गीको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे।

गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढिरहेको बताए। गएको वर्षहरुमा असोज महिनादेखि सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने अहिले पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेका उनले बताए ।