काठमाडौं । आगामी मंसिर ४ मा देशभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखैमा राष्ट्रिय राजनीतिमा उथलपुथल आएको छ । पाँच दलीय सत्ता गठबन्धनबाट साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहिरिने भएपछि एकाएक राष्ट्रिय राजनीतिमा उथलपुथल आएको हो ।
सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएको जसपा बाहिरिने निष्कर्षमा पुगेपछि गठबन्धनभित्र सघन छलफल चलिरहेको छ । बुधबारदेखि जारी बैठकले आजसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । यद्यपि बैठक भने लगातार बसिरहेको छ । लगातारको बैठकले जसपाको माग सम्बोधन गर्ने बताए पनि उसले गठबन्धनमा नरहने बताउँदै आएको छ ।
उचित सिट संख्या दिने बताएपछि एमालेसँगै चुनावी तालमेल गर्ने पक्षमा जसपा उभिएको छ । बिहीबारदेखि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच घनिभूत छलफल भइरहेको एमाले नेता महेश बस्नेतले बताए । बस्नेतका अनुसार, ‘जसपालाई एमालेले २५ सिट उपलब्ध गराउन सक्नेछ । यसका लागि अध्यक्षद्वय ओली र यादवबीच निरन्तर छलफल भइरहेको छ ।’
उता जसपाले एमालेसँग चुनावी तालमेलका लागि भेटवार्ता गरिहेको छ भने यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केही नेताहरू सत्ता गठबन्धन दलहरूसँग भेटवार्ता गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार, ‘गठबन्धनको आज (शुक्रबार)को बैठकमा जसपा उपस्थित नभएपछि लोसपाका नेताहरू एकाएक बालुवाटार झुल्केका थिए । उनीहरूले अगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गर्ने भन्दै छलफलमा भाग पनि लिएका थिए ।’
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धन र (लोसपा)बीचको छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताइएको छ । जसपा सिट बाँटफाँडमा असन्तुष्टी जनाउँदै सत्ता गठबन्धन छाडेलगत्तै चुनावी तालमेलका लागि छलफल गर्न लोसपा नेपालका नेताहरू बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
लोसपाका नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा (राजमो) आवद्ध गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए ।
छलफलमा उनीहरुले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ । लोसपाका नेता जितेन्द्र सोनलका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुने बताइएको थियो ।
जसअनुसार यो समाचार तयार पर्दासम्म लोसपा र सत्ता गठबन्धन दलहरूबीच पुनः छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपा र गठबन्धनबीच छलफल भइरहेको छ ।
लोसपाका नेताहरूले आज दिउँसो एक चरण छलफल गरेका थिए । गठबन्धनसँगको छलफलपछि बबरमहलस्थित पार्टी कार्यालयमा आन्तरिक छलफल सकेर लोसपाका नेताहरू बालुवाटार पुगेका छन् । लोसपाको आन्तरिक बैठकले सिटमा मोटामोटी एउटा समझदारी बनाएर गठबन्धनसँग वार्ता गर्ने तयारी गरेको बताइएको छ ।
एक नेताका अनुसार मधेश प्रदेशमा १५ सीटको माग गर्ने लोसपाले तयारी गरेको छ । लोसपाका एक नेताले भने, ‘मधेश प्रदेशमै १५ वटा सिटमा हाम्रो दाबी छ । यद्यपि लोसपाको दावी रहेपनि त्यसमा तलमाथि गर्न सकिने बताइएको छ ।’
कांग्रेसका एक नेताका अनुसार मधेश प्रदेशमा लोसपालाई १० देखि १२ सीट दिने तयारी भइरहेको छ । यसअघि जसपालाई दिएको सिटमा घटाएर लोसपालाई गठबन्धनमा सामेल गराउने रणनीति छ ।
गठबन्धनमा जसपाले देशभर १६ सीट र त्यसमध्ये मधेश प्रदेशमा ११ सीट पाएको थियो । तर त्यसमा चित्त नबुझेपछि गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनबाट बाहिरिएसँगै जसपाले एमालेसँग चुनावी तालमेलका लागि वार्ता अघि बढाएको छ । जसपाले गठबन्धन छोडेसँगै लोसपाको इन्ट्री हुने सम्भावना नजिक छ ।
चार मन्त्रीको पद के होला ?
जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूको पद धराप पर्ने भएको छ । सत्ता गठबन्धनबाट बाहिरिएपछि उनीहरूको पद धराप पर्ने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको मन्त्री पद प्रधानमन्त्री शेरबहादुर देउवाले खोस्ने भएका छन् ।
यसअघि २०७४ मा तत्कालीन सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले विपक्षी दल नेकपा (एमाले)सँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूको जिम्मेवारी खोसेका थिए ।
यद्यपि यतिबेला निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्न नमिल्ने निर्वाचन आयोगले बताएको छ ।