• जेष्ठ १३ २०८३, बुधबार

प्रहरी बुलेटिनमा के छ ? ठाउँ-ठाउँमा मानिसहरू मृत !

आश्विन १८ २०७९, मंगलवार

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले दैनिक बुलेटिन प्रकाशित गरेको छ । आज (मंगलबार) उसले देशभर घटेका घटना र विभिन्न सार्वजनिक कार्यक्रमहरूको संयुक्त रूपमा बुलेटिन प्रकाशित गरेको हो ।

जसअन्तर्गत प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बडा दशैँको अवसरमा प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोको पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।

प्रहरीको प्रकाशित सो बुलेटिनअनुसार जुवाको खालबाट लाखौँ रकमसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै नियन्त्रित लागूऔषधसहित केही अभियुक्तलाई पनि पक्राउ गरेको प्रकाशित बुलेटिनमा छ ।

भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ भने देशका विभिन्न ठाउँमा मानिसहरूको मृत शव फेला परेको प्रहरीले जनाएको छ । वर्षातको मौसममा पनि आगलागी हुँदा धनमाल जलेर नष्ट भएको नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रकाशित गरेको दैनिक बुलेटिनमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक सिंहद्वारा बडा दशैँको अवसरमा मौलो पूजा

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दशैँको अवसरमा प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् । आज (मंगलबार) सिंहले बडा दशैँको अवसरमा मौलोमा पूजाअर्चना तथा संकल्प पूरा गरेका हुन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दशैँको अवसरमा प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोको पूजाअर्चना तथा संकल्प पूजा गर्दै

सोही अवसरमा सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहणसमेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ् र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

प्रहरीले बिक्रम सम्बत् २०११ सालमा निशान झण्डा प्राप्तप गरेपश्चात् हरेक वर्ष बडा दशैँ र चैते दशैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत् रूपमा मौलो पूजा सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

जुवाको खालबाट ११ जना पक्राउ, लाखौँ रकम बरामद

जुवाको खालबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उसले ११ जना जुवाडेसहित लाखौँ रकम बरामद गरेको जनाएको छ ।

महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

नियन्त्रित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका–७ बस्ने ३३ वर्षीय विक्रम राना मगर रहेको प्रहरीले जनाएको छ ।

पुन र रानालाई नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

भ्यानको ठक्करबाट एक जनाको मृत्यु

भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भे. १ ज १२४१ नम्बरको भ्यानको ठक्करबाट गुलरिया नगरपालिका–४ बालापुर घर भई माईती घर आएकी २५ वर्षीया मिरा चौधरी भएको प्रहरीले जनाएको छ ।

आज (मंगलबार) चौधरीको बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

भ्यान चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

देशका विभिन्न ठाउँमा मानिसहरू मृत अवस्थामा फेला

देशका विभिन्न ठाउँमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुम, छथर गाउँपालिका–२ खैरेनी बस्ने ६५ वर्षीया बिष्णु कुमारी लिम्बु सोही गाउँपालिकास्थित सुगन्धघारी जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै बारा, सिम्रौनगढ नगरपालिका–६ सतुवाही बस्ने ४० वर्षीय किशोरी राम सोही ठाउँस्थित झाडीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, बारपाकसुलिकोट गाउँपालिका–६ रातोढुङ्गास्थित गोरेटो बाटोमा सोही गाउँपालिका–५ दुर्कुने बस्ने २० वर्षीय प्रकास वराम भन्ने कुल बहादुर वराम सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

वर्षातको समयमा पनि आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–७ कुमारीगाल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक कुन्ताबेसी घर भएका ६३ वर्षीय भरत सापकोटाले कोठामा बालेको दियोबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा पलङ, काठको दराज, कपडाहरु र अन्य सामान समेत जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बाहुनडाँडा बस्ने राजन सार्कीको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर उनकै छोरा संतोष कार्कीको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर, अन्नपात, लत्ताकपडा लगायत सामान जलेर करिब ११ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।