काठमाडौं । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा हुनुहुन्छ ।
चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गर्नुभयो । खुटिया–दीपायल फास्ट ट्रयाक ९द्रुत मार्ग०को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताएका छन् ।
उनले भने, “निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ ।”
“मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने रु दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी छ”, अर्का मजदुर रकिल घर्तीमगरले भननुभयो, “मजदुर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चार जनाको झण्डै रु १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन ।”
लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् । यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ ।
ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उनीहरुको गुनासो छ ।
मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउन चाहेनन् । खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ ।