अर्खाखाँची । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको अवस्थामा भेटिएका छन्।
सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताए। पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ।
पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको थियो।
डुबेर मरेका बाँदरलाई स्थानीय र प्रहरीले पोखरीबाट निकालेका छन्। पोखरीबाट निकालिएका बाँदरलाई स्थानीयबासी, जनप्रतिनिधि, प्रहरी र वन कार्यालयका कर्मचारीको रोहबरमा खाल्डो खनेर पुरिएको छ।