• बैशाख २७ २०८३, आईतवार

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको सम्भावना

आश्विन १५ २०७९, शनिबार

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । र, अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ ।

पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७ १८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । ‘हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ’, प्रवक्ता मनिष सुमनले भने ।

गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।’