• बैशाख २७ २०८३, आईतवार

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका १० जनाले माफी नमागे टिकट नपाउने

आश्विन १३ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि टिकटको लागि निरन्तर बैठक बसिरहेको छ । बुधबार बसेको बैठकमा टिकट बाँडफाँटको विषयममा छलफल भयो ।

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको टिकटका बारेमा कुरा उठ्दा एमाले अध्यक्ष ओलीले १० जना नेताहरुले आत्मालोचना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । १० बुँदे सहमतिमार्फत एमालेमा बसेका १० जनाले आफूहरुले हिजो गल्ती गरेको महसुस गर्दै लिखित रुपमा आत्मालोचना गरे मात्रै टिकटको विषयमा सोच्न सकिने अध्यक्ष ओलीको अडान रहेको एक नेताले गोलखबरलाई बताए ।

‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ?’ छलफलमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ ।’

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए । ‘पार्टी अध्यक्षलाई अविश्वास गरेर आफ्नो भएको सरकार ढाल्न उद्धत रहेका १० जना नेताहरुको विषयमा अध्यक्ष ओलीले गम्भीर रुपमा सोच्नु भएको छ, एमालेका एक पदाधिकारीले भने,’ हिजो पार्टी अध्यक्षलाई हटाउन तयार भएकाहरुले भोली गल्ती गर्दैनन् भन्ने आधार के छ भन्ने अध्यक्ष ओलीको भनाई छ ।’