• बैशाख २७ २०८३, आईतवार

गठबन्धन प्रति गोकुल बाँस्कोटाको कटाक्ष- सरकार चलाउन सिकाउँछौँ भन्नेहरुलाई देउवाले तोरीको फूल देखाइदिए

आश्विन १३ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकार चलाएर हामी देखाउँछौ भन्ने काँग्रेसी नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तोरीको फुल देखाइदिएको भन्दै कटाक्ष गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता र नागरिक समाजका अगुवाहरुप्रति कटाक्ष गरेका हुन् ।

बास्कोटाले सरकार चलाउन सिकाउँछौँ भन्ने कांग्रेस नेताहरु गगन थापा र डा. मिनेन्द्र रिजालप्रति पनि व्यंग्य गरेका छन् । ‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्’, उनले भनेका छन्, ‘सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बास्कोटाले नागरिक समाज भनिनेहरुलाई पनित कुम्भकर्णको संज्ञा दिएका छन् । सरकारको बेथिति र नागरिकहरु अनेक महामारीको मारमा पर्दा समेत नबोलेको भन्दै नागरिक समाजलाई निद्रामा रहेका कुम्भकर्णको संज्ञा दिएका हुन् ।

‘देश जोगाउन माझी खोज्न हिँडेकाहरु कांग्रेसी आँगनमा देउसी खेल्दै छन्’, उनले भनेका छन्, ‘रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।’