काठमाडौं । सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई घाटमा गएर बोलाउने चलन छ । रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै कुटेर महिलाको हत्या गरिएको छ । आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् ।
उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर हत्या गरेको स्वीकारेका छन् ।
सोह्रश्राद्ध माझी समुदाले मरेका पितृहरूलाई घाटमा गएर बोलाउने र बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ ।
जसको शरीरमा पितृ पस्ने बित्तिकै ऊ काम्ने गर्दछन् । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ ।
नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ ।
तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाडेको र कामी नै रहेको भन्दै उनीहरूले यसको दोषी गाउँकै बिबी माझी रहेको निष्कर्ष युवायुवतीले निकालेर पिट्न थालेको बताइएको छ ।