• जेष्ठ ४ २०८३, सोमबार

सक्रियता साथ बजार अनुगमन कार्यमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

आश्विन ९ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सरोकारवाला निकायहरूलाई उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न चार मन्त्री र सचिवहरुसहितको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिएका हुन् । मुलुकमा दसैँँ, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन सरोकारवाला सबै निकायहरूलाई सक्रियता साथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर, उद्योगसचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्तिसचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।