लम्जुङ । नेपाल पूर्वप्रहरी संगठन लम्जुङको मध्येनेपाल नगरपालिका इकाई कार्यसमिति भोर्लेटारको आयोजनामा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनको इकाई अध्यक्ष शुकबहादुर विकको अध्यक्षतामा भोर्लेटारस्थित इशानेश्वर क्याम्पस हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा प्रमुख अतिथिका रुपमा नेपाल पूर्वप्रहरी संगठनका केन्द्रीय सदस्य वीरसिंह घले थिए भने विशेष अतिथिका रुपमा संगठनका लम्जुङका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर अधिकारी, ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया र बयोबृद्व व्यक्ति द्वय ९६ वर्षीय जगतबहादुर साठी र कणर्बहादुर मल्ल समेत उपस्थित थिए । कार्यक्रमको सञ्चालन संगठनका सचिव लक्ष्मण कुवँरले गरेका थिए ।
नेपाल पूर्वप्रहरी संगठनका केन्द्रीय गतिविधि बारे भुपु प्रहरीका छोराछोरीहरुले शिक्षा क्षेत्रमा सबै भन्दा राम्रो नम्बर ल्याउनेलाई छात्रावृत्तिको सुविधा दिइएको छ । भुपु प्रहरीका परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल काठमाडौंमा निःशुल्क उपचार गरिएको छ भने क्षेत्रीयस्तरमा पनि उपचार गर्ने गरिएको छ । साथै भुपु प्रहरीहरुको मृत्यु भएमा हतियार सहित दर्जा हेरेर सलामीको व्यवस्था गरिएको छ । त्यस्तै परिवारलाई कृया खर्च पनि दिइएको छ ।
यो संगठनको संरचनागत ढाँचा अनुसार केन्द्र, प्रदेश, जिल्ला, नगरपालिका र गाउँपालिका स्तरमा इकाई समितिहरु गठन भएका छन् । यसैगरी अन्य सेवा तथा सुविधा लागि राज्यसँग माग गर्ने काम भइरहेको कुरा प्रमुख अतिथि वीरसिंह घलेले जानकारी गराए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष गंगाबहादुर अधिकारीले संगठनको जिल्लाको गतिविधि माथी प्रकाश पारे । उनले भुपु प्रहरीहरुले जिल्लाबाट पाउने सुविधा सम्बन्धि जानकारी गराए । त्यस्तै कार्यक्रममा बहालवाला प्रहरी इप्रका भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले प्रहरीहरुको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए ।
उनले केही अफ्ठेरो परेमा आफूले सक्दो सहयोग गर्ने वचन दिए । आपसमा सेवा र सहयोगी भावना हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रमका अध्यक्ष शुकबहादुर विकले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।