• बैशाख २६ २०८३, शनिबार

जसपाले राष्ट्रपति विरुद्ध आन्दोलन गर्दै

आश्विन ७ २०७९, शुक्रबार

जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत् बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूणर् आन्दोलन गर्ने निणर्य गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए ।
उनका अनुसार असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने छ ।

असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवम् वडास्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि धावा बोलेको जसपाको निष्कर्ष छ । राष्ट्रपतिले राजिनामा दिनु पर्ने जसपाको मुख्य माग रहेको प्रदेश कमिटी मुख्य सचिव यादवले बताए ।