जनकपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।
बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी सङ्घीय संसदले पुनः पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको आरोप लगाए ।
उनले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लङ्घन गरेको भन्दै आपत्ति जनाउदै दोस्रो पटक पनि सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई प्रमाणीकरण हुनबाट राष्ट्रपतिले रोक्न मिल्ने अवस्था नै नरहेको बताए ।
पूर्वराष्ट्रपति यादवले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक देशहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे । राष्ट्रपतिले त्याे विधेयक प्रमाणीकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली नागरिकलाई सजग भएर लाग्नुपर्ने उनकाे भनाइ थियाे ।