काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को भातृ संगठन युवा जनस्वयमसेवक, नेपालले आगामी मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्टाचारी र मिटरव्याजीलाई उमेदवार नबनाउन आग्रह गरेको छ ।
सो संगठनका अध्यक्ष हरिश भट्टको नेतृत्वमा गएको समूहले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । ज्ञापनपत्रमा मिटरव्याजको अपराधमा संलग्न व्यक्ति, ठेकेदारको लाइसेन्स लिएका व्यक्ति, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरुलाई उम्मेदवार नबन्न र बनाउन नदिन माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘हाम्रो संगठन देश र जनताको हितका विरुद्ध प्रयोग हुने यसखाले संसदीय निर्वाचन औचित्यहीन ठान्दछ तथापि, अर्को विकल्प नहुँदासम्म जनता यो घट्टमा पिसिइरहनु एक बाध्यता हुनेछ, जबसम्म उनीहरु स्वयम् त्यसका विरुद्ध जाइलाग्ने छैनन् । हामी चाहन्छौं : शिक्षा र स्वास्थ्यमाथिको व्यापार पूणर्रुपले बन्द होओस् र आम जनतालाई शिक्षा र स्वास्थ्यको निःशुल्क सुविधा प्राप्त होओस् । सम्पूणर् नेपाली नागरिकहरुलाई जमिनमाथिको जन्मसिद्ध अधिकार सुनिश्चित गरियोस् । आवासबिहीन नागरिकहरुलाई आवासको सुनिश्चितता होओस् । सम्पूणर् श्रमिक जनतालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी होओस् । असमान र राष्ट्रघाति सन्धि सम्झौताहरुको खारेजी होओस् । भ्रष्टाचार मुक्त र सुशासनयुक्त व्यवस्था होओस् ।’