काठमाडौं । चाडपर्व नजिकिएसंगै काठमाडौंको सुरक्षा व्यवस्था अझ कडा गर्न थालिएको छ । देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना-२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो ।
चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्वको समयमा काठमाडौंको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाडौँ प्रवेश गर्ने नाकामा सिसिटिभीबाट मनिटरिङ गर्ने, ड्रोनबाट तस्बिर लिई सुरक्षा प्रदान गर्ने, अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गर्ने, प्रहरी एप्सको प्रयोग गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौँ प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, टोलटोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तक्र्रिया गरिने भएको छ ।
यस्तै, काठमाडौँभित्र रहेका १४ प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई प्रभावकारी परिचालन गरिने, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना गर्ने, १२ स्थानका टिकट काउण्टरमा प्रहरी खटाउने, २४ स्थानमा मोबाइल गस्ती गर्ने, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमाण्डमा १४ स्थानमा क्युआरटी, २८ स्थानमा नाका सिल, कर्डन एण्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ ।
यसैगरी, १२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी, कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा एम्बुसिङ र निगरानी, ४६ स्थानमा सिआरबी परिचालन, छ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको प्रवक्ता मैनालीले बताए ।