काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएका हुन् ।
तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
रातो टिसर्ट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् ।
काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । कसले र के कारणले गोली चलाएको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।
गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।