• जेष्ठ ४ २०८३, सोमबार

अछाम पहिरो प्रभावितलाई जनही एक लाख रुपैयाँसहित राहत,घाइतेको उपचार सरकारले व्यहोर्ने

आश्विन २ २०७९, आईतवार

अछाम । सरकारले अछामका पहिरो प्रभावितलाई जनही एक लाख रुपैयाँ नगद राहत प्रदान गरेको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नगदसहित राहत वितरण गरेका हुन् ।

मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन पनि गरे ।

शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा परी अछाममा २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही एक लाख र आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई वितरण गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारकातर्फबाट तत्काल किरिया खर्चबापत जनही एक लाख रकम वितरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।

मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमलबजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहत सामाग्री पनि वितरण गरेका छन् ।

मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाको सम्पुर्ण उपचार सरकारले व्यहोर्नेसमेत बताएका छन् ।