• बैशाख २६ २०८३, शनिबार

यो समाचार पढ्दा सबै छक्क ! चुनावकै मुखमा एक हजार ८६१ उमेदवार कारवाहीमा

आश्विन २ २०७९, आईतवार

काठमाडौं । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जारिवाना गर्ने निणर्य गरेको छ ।

तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार जिल्लामा तीन सय १२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह निर्वाचन अन्तरगत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए ।

त्यसमध्ये तोकिएका समयमा खर्च विवरण बुझाउनेको सङ्ख्या ३१२ जना मात्रै भएकाले ढिलो गरेर बुझाउने ९४ जना र ढिलो भएको स्पष्टीकरण सहित बुझाउने दुई सय १३ जनालाई समेत निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम जरिवाना हुने आयोगले निणर्य हो ।

आयोगको उक्त निणर्यले नुवाकोटमा निर्वाचित भएका पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसमेत कारवाहीमा परेका छन् । कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारको हकमा आयोगले स्पष्ट नपारेकाले के गर्ने भन्ने थप निणर्यको पर्खाइमा रहेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत पालिका, कार्यपालिका र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा उम्मेदवार भएका दुई हजार एक सय ७३ जनामध्ये विभिन्न पदमा पाँच सय ७४ जना उम्मेदवार निर्वाचित भएका छन् ।

‘समयभित्र खर्च विवरण बुझाउने तीन सय १२ जनामा पराजित उम्मेदवारको सङ्ख्या आधाभन्दा बढी छन्’, उनले भने, ‘निर्वाचित उम्मेदवारलेसमेत खर्च विवरण बुझाउन चासो नदिनुलाई उम्मेदवारदेखि राजनीतिक दलबाटसमेत कानूनको अटेरी गरेको देखिन्छ ।’

निर्वाचन आयोगले गत शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीअनुसार तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सात लाख ५० हजार रपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

उपमहानगर पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई दुई लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने भनिएको छ ।

तोकिएको उक्त जरिवाना शुल्क छ महिनाभित्र नबुझाएमा नामावली प्रकाशित गर्ने, छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेदेखि आयोगबाट गराउने आगामी सबै निर्वाचनमा भाग लिन अयोग्य ठहर गर्ने, उनीहरुको नामावली सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा टाँस गरिने र तोकिएको जरिवानालाई सरकारी बाँकी सरह असुल गरिने भनिएको छ ।