काठमाडौं । गोरखाको जरेबरमा निर्माणाधीन पुल फेरि विवादमा परेको छ । पुलको दुवैतर्फ सडक ट्रयाक नपुगेको भन्दै यसअघि विवादमा तानिएको यो पुलको मुखमा सडक ट्रयाक पर्याउन खोज्दा अर्को बिबाद देखा परेको हो।
गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्र र सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर फाँट जोड्न दरौंदी नदीमाथि निर्माणाधीन यो पुल गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले बनाएको हो ।
पुलको एकपट्टी भाग गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्रमा पर्ने राताढुंगा-गोलपोले सामुदायिक वन क्षेत्रमा पर्दछ ।
सामुदायिक वन र जिल्ला वन कार्यालय लगायतसँग अनुमति नलिई पुलको मुखमा सडक ट्रयाक बनाउँदा वन क्षेत्र मासेको भन्दै नयाँ विवाद सिर्जना भएको हो ।
अनुमति नलिई करिब २५ मिटर वन क्षेत्रमा डोजर लगाइएको पाइएको गोरखास्थित वन कार्यालयको भनाइ छ । बुधबार यस क्षेत्रमा वन कार्यालयले अनुगमनसमेत गरेको थियो ।
सामुदायिक वन उपभोक्ता समितिले पनि अनुमतिविना वन क्षेत्रमा डोजर नलगाउन निर्माण कम्पनी एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीलाई भनेको थियो ।
यहाँ ५० मिटर लामो पुल बनाइएको छ । यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ । पुल निर्माण गर्न २०७७ जेठमै सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ जेठमा निर्माण सक्नुपर्ने भए पनि अझै केही काम बाँकी हुँदा बिबाद भएको हो ।