• बैशाख २६ २०८३, शनिबार

एमाले अध्यक्ष ओलीले चिनियाँ नेता लीसँग उठाए यी पाँच विषय

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुसँग पाँच वटा विषय उठाएका छन् ।

मंगलबार विहान नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटमा चाङ्सुले चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाएका थिए।

औपचारिक वार्तामा एमाले अध्यक्ष ओलीले मुख्य रुपमा पहिलो विषय बीआरआइको कुरा उठाएका छन् । लामो समयदेखि बीआरआईको विषय अघि बढ्न नसकेको विषयमा छलफल भएको थियो । त्यस्तै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका खोल्ने विषयमा चिनियाँ नेता लीसँग आग्रह गरेका छन् ।

त्यस्तै नेपालको पछिल्लो राजनीतिक अवस्था, एक चीन नीति र पार्टीगत विषयमा कुरा भएको एमालेका एक पदाधिकारीले गोलखबरलाई जानकारी दिए ।

‘बीआरआइ परियोजनामा नेपालले गरेको सम्झौता यथाशिघ्र कार्यान्वयन गराउनुपर्छ भन्ने विषयमा हामी प्रतिबद्ध छौ, ओलीको भनाई उदृत गर्दै एमालेका एक पदाधिकारीले गोलखबरसँग भने, नेपालको विकास निर्माणको कुरामा चीनले गर्दै आएको सहयोगको हामी प्रशंसा गर्छौ ।’

एक चीन नीति प्रति नेपाल सधैँ प्रतिवद्ध रहेको ओलीले प्रतिवद्धता जनाए । ‘एक चीन नीति प्रति नेपाल सधैँ प्रतिबद्ध छ,’ ओलीले भने, ‘यसमा सशंकित नहोस्, चीनलाई हेर्ने दृष्टिकोण नेपालको बदलिने छैन।’

जवाफमा चिनियाँ कंग्रेस अध्यक्ष चाङ्सुले चीन–नेपाल सम्बन्ध निकै पुरानो रहेको बताए। ‘चीन–नेपाल सम्बन्ध निकै पुरानो हो, हामी असल र पुरानो छिमेकी हौँ,’ अध्यक्ष चाङ्सुले भने, ‘चीनलाई अप्ठेरो पर्ने कुरा नेपालबाट हुने छैन भन्ने कुरामा हाम्रो पूरै विश्वास छ।’