पर्सा । नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका २ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैबिच, नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका(६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
काठमाडौं महानगरपालिका ३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाईल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान मोबाईल लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।