काठमाडौं । नेकपा उमालेका अध्यक्ष केपी शर्मा ओलीले लुटतन्त्रको अन्त्यको लागि एमालेको सरकार बन्न जरुरी रहेको बताएका छन् ।
पार्टी कार्यालयमा आयाेजित पार्टी प्रवेश कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले सरकार देशका हितमा नभएर सत्ता जोगाउन जे सुकै पनि गर्न तयार रहेको बताए । उनले गठबन्धन सरकार नीतिहीन सरकार भएको बताउदै भने- ‘यो सरकार खान जन्मिएको, खान बाहेक केही छैन, लुट्न बाहेक केही छैन’ ।
लुटतन्त्रको अन्त्यको लागि एमालेको सरकार बन्न जरुरी रहेको बताउदै एमालेको सरकार बन्नको लागि आउने चुनावमा पार्टीले बहुमत ल्याउन आवश्यक रहेको ओलीले प्रष्ट पारे ।
कसैको बैसाखी टेकेर सरकारमा जाँदा काम गर्न नसकिने बताउदै ओलीले एमाले नेता कार्यकर्तालाई बढी नफुल्न र ठुलो नपल्टिन आग्रह गर्दै अहंकार र दम्भको हावा त्याग्न सुझाव दिए । ‘ज्ञान बढाउनुस्, शैली सुधार्नुस्, आचरण सुधार्नुस्’, उनले भने ।