• श्रावण १२ २०८३, मंगलवार

नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

भाद्र २३ २०७९, बिहीबार

काठमाडौं। भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् ।

सेनाध्यक्ष पाण्डे र उनकी पत्नी अर्चनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उनकी श्रीमती मनिषा कार्कीले बिदाइ गरे ।

नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार पाण्डेलाई २० भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । २० गते नै पाण्डेको सम्मानमा प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए ।

भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । त्यस्तै उनले जङ्गी अड्‍डामा प्रधान सेनापति प्रभुराम शर्मसँग औपचारिक भेटवार्ता गरे । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

पाण्डेले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरेका थिए ।