काठमाडौं । सत्तासाझेदार दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा (राजमो)ले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गरेका छन् । यी पाँच दलले चुनावी तालमेल गरेसँगै प्रमुखप्र तिपक्षी दल नेकपा (एमाले)भित्र संकट गहिरिँदै गएको छ । गहिरिँदो संकटलाई मध्यनजर गर्दै एमालेले पुरानो साख जोगाउन अनेकन् प्रयास गर्दै आएको छ ।
२०७४ सालको निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो दल बनेको एमालेलाई विरात फर्काउन निकै मुस्किल पर्नेछ । बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने उसले पुरानो विरासत फर्कान नसक्ने पक्का छ ।
यहीँ संकेत पाएका एमाले अध्यक्ष केपी शर्मा ओली शक्ति सन्तुलनमा राख्न चलाखी गर्न थालेका छन् । संघ र प्रदेशको निर्वाचनमा एमालेले विरासत फर्काउन नसक्ने थाहा हुँदाहुँदै ओलीले अन्य दलका असन्तुष्ट नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने रणनीति सुरु गरेका छन् ।
अध्यक्ष ओली यहीँ रणनीति लिएर देशका विभिन्न ठाउँमा पुग्ने गरेका छन् । एमालेले आयोजना गरेका पार्टीका सार्वजनिक कार्यक्रममा उनीलाई भ्याइनभ्याई छ । काठमाडौं उपत्यकामा हुने कार्यक्रममा उनी नपुगेको ठाउँ ने छैन । त्यहाँ पुगेर उनले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मरिमेटी लाग्न सुझाव दिँदै आएका छन् । उनले संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनुपर्ने भन्दै माथिल्लोदेखि तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिइसकेका छन् ।
त्यस्तै ओलीले देशका सातैवटा प्रदेश र ७७ वटै जिल्लाका पार्टी इन्चार्ज, अध्यक्षलाई अन्य दलका असन्तुष्ट नेता तथा कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउन निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले असन्तुष्ट नेतालाई पार्टी प्रवेश गराएर उचित स्थान दिन समेत निर्देशनदिएका छन् । यसो गर्दा अन्य पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गर्न र गराउन सहज हुने ओलीलाई उद्धृत गर्दै स्रोत बताउँछ ।
यसअघि आन्तरिक कलह, पार्टी विभाजनर पटक–पटकको संसद् विघटनले एमालेको आकार घट्दै गएको छ । उसको आकार घटेसँगै पार्टीको वरियता पनि दोस्रो स्थानमा झरेको छ भने शक्ति सन्तुलन पनि पहिलेको जस्तो देखिँदैन । यसर्थ प्रतिपक्षी दलसँग शक्ति सन्तुलन कायम राख्न ओलीको केही उपाय नलागेपछि रुष्ट र असन्तुष्ट नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने रणनीतिमा लागेको स्रोत बताउँछ ।
यसअघि पनि ओलीले असन्तुष्ट रहेका माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै आएका छन् । यद्यपि उनले बनाएको यो रणनीति पश्चात् अन्य दलका कार्यकर्ताले पार्टी प्रवेश गरे पनि नेताहरूले भने प्रवेश गरेका छैनन् ।
एमाले सांसद महेश बस्नेतका अनुसार पार्टीको रणनीति अन्य दलका नेता तथा कार्यकर्ता मात्रै भित्र्याउने होइन, हामी हाम्रो पार्टी एमालेलाई संघ र प्रदेशको निर्वाचनमा पहिलो बनाएरै छोड्छौँ । त्यसका लागि अन्य दलका साथीहरू आउनुहुन्छ भने स्वागत गर्न तयार छौँ । तर, यो मात्रै एमालेको चुनावी रणनीति होइन । उनी थप्छन्– ‘यो हाम्रो प्रारम्भीक रणनीति हो, यो नै पूर्ण रणनीति भने होइन । आगामी निर्वाचनका लागि हामीले बनाउने रणनीति पार्टीलाई पहिलो बनाउनु हो । तर, यसका लागि अहिले नै यो हो भनेर भन्नू उपयुक्त लाग्दैन । रणनीति बने पश्चात् सबैले थाहा पाइहाल्नु हुन्छ ।