• बैशाख २६ २०८३, शनिबार

बाबुरामलाई पनि गठबन्धनमा सामेल गर्ने देउवाको बाचा

श्रावण २४ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।

मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका बाबुरामलाई प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सत्ता गठबन्धनमा समेट्ने प्रतिबद्धता देउवाले जनाएको बताए ।

भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।”हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौ ’ यादवले भने,”हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।”

पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।यसअघि सत्ता गठबन्धनको सोमबार बसेको कार्यदल बैठकमा पनि बाबुरामलाई समेट्नुपर्ने विषयमा कुरा उठेको थियो ।

प्रतिगमनविरुद्धको आन्दोलनमा बाबुरामको भूमिकाको मूल्यांकन सहित उनलाई गठबन्धनमा समेटिनुपर्ने माओवादीको तर्फबाट कार्यदलमा रहेका नेता वर्षमान पुनलगायतले धारणा राखेका थिए ।