काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्ने जस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०/५० प्रतिशत महिला उम्मेदवारी दिन जरुरी रहेको बताइन् ।
उनले कानुनी व्यवस्था बाध्यकारी भएन भने सम्भव नहुने कुरा स्पष्ट भइसकेको भन्दै यसलाई प्रभावकारी रूपमा बाध्यकारी कानुनी व्यवस्था ल्याएर महिला प्रतिनिधिको समान उम्मेदवारी गराउन जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका छौँ । यसमा हाम्रो महत्वपूर्ण विषय के छ भने मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्दागर्दै पनि संविधानमा उल्लेखित महत्त्वपूर्ण विषय भनेको संघ र प्रदेशमा अनिवार्य एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था गरेका छौँ । यसले सदियौँदेखि हेपिएकाहरू निर्णायक तहमा पुग्ने स्थिति बनेको छ । हामीले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार हामीबाट भएको छ । उम्मेदवारी दिने सवालमा पनि त्यस्तो व्यवस्था रहेको हुनाले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्था छ । यसको लागि प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०र५० प्रतिशत महिला उम्मेदवारी दिन जरुरी छ । त्यो कानुनी व्यवस्था बाध्यकारी भएन भने सम्भव नहुने कुरा पनि देखिसकेका छौँ ।’
उनले पितृसत्तात्मक सोचाइ हटाउनको निम्ति बाध्यात्मक कानुनी व्यवस्था गर्न माग गरिन् ।