काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोट विदुर-२ का अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ ।
मोबाइल र ल्यापटपको फोरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।
जिल्ला अदालत काठमाडौँमा सो मुद्दाबारे थुनछेक बहस भइरहेको छ । सोमबार बयान सकिएको थियो । मंगलबार उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने बारे आदेश हुन्छ ।
प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । श्रेष्ठले क्रिप्टोकरेन्सीको कारोबार गरेको नदेखिएको र राष्ट्र बैंकको अनुमति बिना विदेशी बैंकमा डलर कारोबार गरेको पुष्टि भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्दै आएका श्रेष्ठलाई असार २९ मा प्रहरीले पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार मूल्य बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
श्रेष्ठले अस्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नबिल बैंकमा उनले डलर कारोबार गरेको फोरेन्सिक परीक्षणबाट देखिएको छ । अमेरिकन डलर मात्रै उनले ३३ करोडभन्दा बढीको कारोबार गरेका छन् । राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमय सम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।
विदेशी बैंकमा उनले ३ करोड ३६ लाख ३१ हजार बराबर नेपाली मुद्राको कारोबार गरेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की र लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्ट छ । सो सम्पत्तिको बजार मूल्य ४ करोड भन्दा बढी हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।