काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा ‘हेभी वेट’ भिडन्त हुने क्षेत्रमध्ये एक हो सिन्धुपाल्चोक क्षेत्र नम्बर १ . नेकपा माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा र नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो यो । सत्तारुढ पाँच दलबीच तालमेल हुने पक्कापक्की जस्तै छ । यद्यपि यो क्षेत्रबाट गठबन्धनले सापकोटा र बस्नेतमध्ये कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रस्ट भइसकेको छैन ।
सिन्धुपाल्चोक १ मा गठबन्धनभित्र नेकपा माओवादी केन्द्रबाट सापकोटा र काँग्रेसबाट बस्नेत बाहेक अरु नेताले दाबी गर्ने अवस्था छैन । तर, गठबन्धन हुने भएमा उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्र वा काँग्रेसमध्ये कसले उम्मेदवारी दिने भन्नेमा प्रतिस्पर्धा हुने भएको छ ।
‘सभामुख भएकाले राजनीतिक गतिविधि र कार्यक्रममा हिँड्न पाइदैन । अरु जिल्लाको सामाजिक कार्य र विकास निर्माणको कार्यमा सक्रिय हुनुहुुन्छ,’ सभामुख सचिवालयका एक सदस्यले भने, ‘तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा लड्ने भनेर तयारी गरिरहनु भएको छ । अरु राजनीतिक भेटघाट र छलफल जारी राख्नु भएको छ ।’
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास पात्र भएकाले पनि सभामुख सापकोटाले गठबन्धनबाट टिकट पाउने बलियो सम्भावना छ । तर काँग्रेसका नेता बस्नेतले गठबन्धनबाट चुनाव लड्ने भनेरै गतिविधि जारी राखेका छन् । यदि पार्टीले गठबन्धनबाट आफूलाई उम्मेदवार नबनाए आफू बागी उठ्ने उनको चेतावनी छ ।
यसअघि पार्टीको केन्द्रीय समिति बैठकमा बस्नेतले पार्टीले टिकट नदिए बागी उठ्ने बताइसकेका छन् । बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट भएकाले उनी समेत सशक्त दाबेदार हुन् । त्यसैले सिन्धुपाल्चोक १ बाट आगामी चुनावमा सापकोटा र बस्नेतमध्ये गठबन्धनबाट कसले टिकट पाउँछन् भन्नेमा कौतुहलता बढेको छ ।
यसअघि २०७४ सालको चुनावमा सापकोटाले बस्नेतलाई फराकिलो मत अन्तरले हराएका थिए । सापकोटा एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार भएका थिए भने बस्नेत एकल रुपमा चुनावमा उठेका थिए । सापकोटा ४० हजार ५०४ मत ल्याएर निर्वाचित हुँदा बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याएर पराजित भएका थिए । सापकोटा र बस्नेतको मत अन्तर १० हजार ७१० थियो ।