• बैशाख २६ २०८३, शनिबार

नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन वनमन्त्री यादवको प्रतिबद्धता

श्रावण २३ २०७९, सोमबार

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

दक्षिण एसिया देशहरूमा रहेका नदी तथा समुन्द्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप)ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरूको सहभागितामा देश विशेष बृहत् कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहोर र प्रदूषण नियन्त्रण गर्न आफू लागि परेको बताए।

‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन’, मन्त्री यादवले भने।

मन्त्री नियुक्त भएपश्चात् छोटो समयमै धेरै कामहरूको सुरूआत गरेको दाबी गर्दै उनले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए।

यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए।

त्यसैगरी उनले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्रीरवितरण र भण्डारणमा पनि आफूले मन्त्रिस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए।

यसैगरी, वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण काम भइरहेको उनले बताए।

‘वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन म लागिपरेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरूको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्ने प्रकिया सुरू हुन्छ’, उनले भने।